लाटीकोइली गाउँ विकास समिति वडा नं. ९ मा एउटा बुलबुले ताल रहेको छ । सुर्खेत उपत्यकाको सवैभन्दा ठूलो पानिको श्रोतको रुपमा रहेको बुलबुले वि.स. २०२९ साल पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा जग्गा सिचाईको निमित्त ज्यादै महत्वपूर्ण मानिन्थ्यो । यद्यपि सिंचाईको निमित्त पहिले पनि त्यत्तिकै महत्वपूर्ण छ । तर पनि आजकाल सिंचाईभन्दा यसको बुलबुल गर्दै जमिन मुनीबाट निस्कने पानीको फोका र बाह्रै महिना एकनासले सम्पूर्ण धाराबाट बग्ने अविरल पानीको बढी महत्व छ । बुलबुलेको आजकाल देखिने जलकूण्ड निर्माण गरिनुपूर्व सानो चिरोमा केही ठुला ठुला ढुङ्गाको बिचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दथ्यो । यहाँ स्थानीयबासीले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने भएकाले मुखिया भीमराज पोख्रेलले बुलबुले पानीको मुहानदेखि पश्चिमपट्टि बरपिपलको रुख रोपेर चौतारी समेत बनाईदिएका थिए ।
वि.स.२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र सुर्खेत गएपश्चात वीरेन्द्रनगरलाई व्यवस्थीत शहरको रुप दिने आवश्यक योजना तर्जुमा गर्न वीरेन्द्रनगर नगरयोजना कार्यान्वयन समितिको गठनभै नगर योजना कार्यान्वयन ऐन लागु गरिएको थियो । यो वर्तमान बुलबुले ताल वीरेन्द्रनगरभित्र नपर्ने भएपनि पानीको राम्रो स्रोत भएकाले यसको संरक्षण गरिनु पर्छ भन्ने उद्देश्य राखेर इन्जिनियर माधवभक्त माथेमाले योजनाभित्र समावेश गरे । सुर्खेत उपत्यकाभित्र रहेका महत्वपूर्ण दार्शनिक र पुरातात्विक स्थानहरुको संरक्षण गर्ने क्रममा वीरेन्द्रनगर नगर योजना कार्यान्वयन समितिको सक्रियतामा महत्वहिन जस्तै वन्न पुगेको वुलवुले तालको संरक्षण र सम्वर्धन गर्ने कार्यको थालनी भयो । यस तालको पूर्व तिर महिलाको लागी ५ वटा र दक्षिण तिर पुरुषको लागि ५ वटा गरि जम्मा १० वटा कलात्मक धाराहरु जडान गरि तिनै धाराहरुवाट पानि प्रभावित हुने गर्दछ ।
वि.स. २०२९ सालदेखि बुलबुले तालको निर्माण गरी संरक्षण गरीएपश्चात यसको आकर्षण बढ्दै गएको छ । बुलबुले तालको चारैतिर २२ विगाह जमिन अधिग्रहण गरी तारवार र ट्याङ्की निर्माण गरीएका छन् । तालको उत्तर र पूर्वपट्टि वृक्षारोपण गरीएको छ रत्न राजमार्गको तीनकुनेदेखि तालसम्म जाने बाटोको दुवैतिर विभिन्न जातका मौसमी फूलका बोटहरु र काागियो सल्लो रोपिएको छ । तालको दक्षिणपट्टि विभिन्न जातका फुलहरु रोपेर सुन्दर बगंैचा निर्माण गरीएको छ । यस बगैंचालाई बुलबुले उद्यान्न भन्ने गरीन्छ । उद्यान्नमा रोपीने फूलहरु उत्पादन गर्ने नर्सरी पनि तालको उत्तरतर्फ सडकको बायाँ भागमा रहेको छ ।
यहाँ विहान, दिउँसो र सााझ तिनै प्रहरमा स्नान गर्ने, घुमफिर गरी मनोरञ्जन गर्नेहरुको भीड लाग्दछ । बुलबुले उद्यान्नमा विभिन्न वनभोज खाने स्पोर्टहरु पनि बनाएका छन् । शनिवार तथा अन्य विदाका दिनहरुमा सरकारी कर्मचारी, शिक्षक विद्यार्थी र अन्य व्यक्तिहरुले वनभोज खाई नाचगान गरेर रमाइलो पनि गर्ने गर्दछन् ।
वीरेन्द्रनगर नगरपालीकामा खानेपानीको संकट भएको अवस्थामा यहीबाट खानेपानी आपूर्ति गर्ने गरिन्छ । तालमा विभिन्न जातका माछाहरु पनि पालिएका छन् । यहाँ बाट बगेर खेरजाने पानी तलतिर ठुलो जलासयमा जम्मा हुन पुग्छ । यो जलाशयमा पानी बन्द गर्ने र खोल्ने गेट पनि राखिएको छ । कृषकहरुले धानको वीउ राख्ने बेलाहोस् अथवा रोपाईको बेलामा सुख्खा पर्न गयो भने यसै जलासयबाट पानी खोलेर खेतमा पानी पुर्याई आ–आफ्नो खाँचो टार्छन् । यति मात्र नभएर यस जलाशयमा सानातिना केटाकेटीहरु पौडी खेल्ने र माछा मार्नेसमेत गर्दछन् । बुलबुलेको तालबाहेक यसको हाताभित्र विभिन्न पानीका मुलहरु पनि छन् । यी मुलहरुलाई संकलन गरेर जलाशयको पूर्वतर्फबाट लाटिकोइली गााउँ विकास समितिका बासिन्दाहरुलाई विजुलीबाट पानी खिचेर काँक्रेविहारको डाँडामा पानी ट्याङ्की निर्माण गरी खानेपानीको सुविधा प्रदान पनि गरीएको छ पानी लिՙफ्ट गर्ने योजना ज्यादै खर्चालु भएपनि स्थानिय जनता र पुरातात्विक क्षेत्र काक्रेविहारमा वनभोज खान जानेहरुका लागि यो अत्यन्तै महत्वपूर्ण बनेको छ ।
बुलबुले खानेपानी योजनाबाट विभिन्न ८१ वटा सार्वजनिक धाराहरु वितरण गरिएका भएपनि पछिल्लो समयमा पानि सुक्दै गएपछि ती धाराहरु हाल बन्द रहेका छन् ।
स्वास्थ्य, खानेपानी, सिंचाइ र पर्यटकीय दृष्टिले समेत ज्यादै महत्व राख्ने बुलबुले तालको यथोचित रेखदेखमा विगतमा भन्दा केही शिथिलता आएको देखिन्छ । अहिले पनि यसको रेखदेख सुर्खेत उपत्यका नगर विकास समितिले गरीरहेको छ । सुर्खेत जिल्लाको गौरव, इज्जत र प्रतिष्ठासाग नाम गास्न पुगेको प्राकृतिक धरोहर यस बुलबुले तालको विषयमा हरेकले संवेदनशिल भई संरक्षण र सम्वद्र्धन गदै गएमा यसले सुर्खेत जिल्लालाई आफै सम्मानित नगर्ला भन्न सकिन्न ।










